काठमाडौंमा भारतीय विश्वविद्यालयहरूको शैक्षिक महाकुम्भ, उच्च शिक्षाका नयाँ अवसर खुल्दै

खेमराज भट्ट,जेठ २३
काठमाडौं-भारतका प्रतिष्ठित विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्ने लक्ष्य बोकेका नेपाली विद्यार्थीहरूका लागि काठमाडौंमा आयोजना गरिएको ‘स्टडी इन इन्डिया एक्स्पो २०२६’ प्रति उल्लेखनीय आकर्षण देखिएको छ। नयाँ बानेश्वरस्थित The Everest Hotel मा शुक्रबार आयोजित एक्स्पोमा दिनभर विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

भारतका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयहरूको सहभागितामा सञ्चालन भइरहेको उक्त एक्स्पोले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका विविध अवसरबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै भर्ना प्रक्रिया, अध्ययनका क्षेत्र, छात्रवृत्ति, शुल्क संरचना तथा भविष्यका करिअर सम्भावनाबारे जानकारी लिएका छन्।

एक्स्पोमा विद्यार्थीहरूका लागि स्थलमै आवेदन दिने सुविधा उपलब्ध गराइएको छ। साथै, शैक्षिक योग्यता र उपलब्धिका आधारमा प्रदान गरिने विभिन्न छात्रवृत्ति योजनाबारे विस्तृत परामर्शसमेत दिइएको छ। यसले भारतमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई आफ्नो शैक्षिक लक्ष्यअनुसार विश्वविद्यालय र विषय छनोट गर्न सहज बनाएको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा स्नातक र स्नातकोत्तर तहका २०० भन्दा बढी शैक्षिक कार्यक्रम प्रस्तुत गरिएका छन्। इन्जिनियरिङ, व्यवस्थापन, सूचना प्रविधि, स्वास्थ्य विज्ञान, मानविकी तथा अन्य विभिन्न विषयगत क्षेत्रका अध्ययन अवसरबारे विश्वविद्यालयका प्रतिनिधिहरूले प्रत्यक्ष जानकारी गराइरहेका छन्।

किफायती लागतमा गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने सम्भावनाका कारण एक्स्पोप्रति विद्यार्थी र अभिभावकहरूको आकर्षण बढेको देखिएको छ। सहभागीहरूले आफूलाई उपयुक्त विश्वविद्यालय, विषय तथा छात्रवृत्तिसम्बन्धी जानकारी एकै स्थानमा प्राप्त भएको प्रतिक्रिया दिएका छन्।

आयोजकका अनुसार एक्स्पो साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश निःशुल्क भएकाले भारतमा उच्च शिक्षा अध्ययन गर्ने योजना बनाएका विद्यार्थी तथा अभिभावकलाई अवसरको अधिकतम उपयोग गर्न आग्रह गरिएको छ।

बिहान १० बजेदेखि सञ्चालनमा आएको एक्स्पोले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक अवसरसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा भूमिका निर्वाह गरेको आयोजकको विश्वास छ। “आजै आउनुहोस् र आफ्नो सपनाको विश्वविद्यालय खोज्नुहोस्” भन्ने सन्देशसहित आयोजित कार्यक्रमले उच्च शिक्षाबारे सही जानकारी र मार्गदर्शन प्रदान गर्दै विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply